कानुनी सचेतना र आर्थिक सशक्तीकरण एकअर्काका परिपूरक आधार: मन्त्री रेखा गुरुङ

Share:

पोखरा। गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले आर्थिक सशक्तीकरण र कानुनी सचेतना एकअर्काका परिपूरक आधार भएको बताएकी छन्।

लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ क्षेत्रका आमा समूह तथा महिला उद्यमीहरूका लागि आयोजना गरेको कानुनी सचेतना कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री गुरुङले कानुनी अधिकार र प्रक्रियाबारे स्पष्ट जानकारी पाउँदा महिलाहरूको आत्मविश्वास बढ्नुका साथै व्यवसाय सुरक्षित र प्रतिस्पर्धी बन्ने धारणा व्यक्त गरिन्।

संविधानले प्रत्याभूत गरेको समानता र न्यायको हक महिलाहरू कानुनी हैसियत, अधिकार र दायित्वप्रति सचेत भएपछि मात्र व्यावहारिक रूपमा स्थापित हुने बताउँदै उनले घरमा एक महिला शिक्षित र सक्षम भए समग्र समाज नै शिक्षित बन्ने उल्लेख गरिन्।

निजी र कानुनी क्षेत्रसँगको सहकार्यले स्थानीय अर्थतन्त्रलाई उकास्न सकिने बताउँदै मन्त्री गुरुङले प्रदेश सरकारले मन्त्रालयमार्फत महिला सशक्तीकरण, सिप विकास र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी पनि दिइन्।

संघकी अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले चेतना र बौद्धिकतामा गरिएको लगानीले महिलालाई शोषणबाट बचाउने र कानुनी अनभिज्ञताले गल्तीबाट उन्मुक्ति नदिने भएकाले दैनिक जीवन तथा व्यवसायसँग जोडिएका कानुनबारे जानकार हुनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता वरिष्ठ अधिवक्ता चिरञ्जीवी शर्माले आर्थिक पारदर्शिता, लैंगिक समानता, हिंसा नियन्त्रण र उद्यमशीलताका विषयमा प्रशिक्षण दिएका थिए भने संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले कानुनी सचेतना नै महिला सशक्तीकरण र सुरक्षाको आधारशिला भएको बताएका थिए।

महासचिव भरतराज ओझाले सञ्चालन गरेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले धन्यवाद ज्ञापन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: