
पोखरा । प्रतिनिधिसभा सदस्यका लागि अहिले कास्कीमा मतदान जारी छ । कास्की २ बाट निर्वाचित तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि यो क्षेत्र रिक्त छ ।
उनको उत्तराधिकारी चयन गर्न मतदान भैरहेको हो । कास्की प्रहरीले आज बिना अनुमति गुडाइएका सवारीलाई नियन्त्रणमा राखेको छ । उपनिर्वाचनको दिन आज कास्की जिल्लाभर सवारी संचालन र प्रवेशमा रोक लगाइएको छ ।
गए राति १२ बजेपछि चलाइएका सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकोमा मोटरसाइकल र स्कुटर धेरै छन् । अन्य केहि चार पाङ्ग्रे सवारी पनि नियन्त्रणमा छन् । अहिलेसम्म झन्डै एक सय ५० भन्दा बढी सवारी नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले पोखराको महेन्द्रपुल र पृथ्वी चोक ट्राफिक कार्यालय अगाडी चेकिङ्गको क्रममा पास नभएका सवारीलाई नियन्त्रणमा लिएको पोखराका ट्राफिक स्वयंसेवक शिव बस्ताकोटी ‘शिव दाइ’ ले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी राखिएका पास नलिई चलाइएका सवारी । तस्बिर-शिव दाइ
ती सवारीलाई साँझ ५ बजेपछि मात्र छाडिनेछ । पास बिना चलाइएका सवारीलाई कुनै जरिवाना भने हुने छैन् । उपनिर्वाचनको दिन आज कास्कीमा आवश्यक सवारीसाधन बाहेक अन्य सवारी साधन प्रवेश र सञ्चालनमा रोक लगाइएको छ ।
शुक्रबार राती १२ बजेदेखि सुरु भएको बन्देज निर्वाचन नसकिदासम्म रहनेछ । अति आवश्यक सेवा सवारी (एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी, ट्याङ्कर, दूरसञ्चार, विद्युत् र अस्पतालभित्रका सेवा) र चुनाव प्रयोजनका लागि पास लिएका सवारीसाधनलाई भने रोक लगाइएको छैन ।
यस्तै चुनावको समयमा अन्य जिल्लाबाट आउने सवारी प्रवेशमा पनि कडाइ गरिएको छ । कास्की जिल्ला आवतजावत गर्ने सवारीलाई तीन वटा प्रवेश बिन्दुमा रोकेर राखिएको छ ।
पोखराको महेन्द्रपुलमा नियन्त्रणमा लिइएका सवारी । तस्बिर-शिव दाइ
पूर्वमा विजयपुर खोला, पश्चिम–उत्तरमा हेम्जाको याम्दी पुल, दक्षिण–पश्चिममा पोखरा-२२ को कालीमाटी खोलामा रोकेर राखिएको छ ।
प्रवेश बिन्दुमा रोकेर राखिएका सवारीलाई प्रत्येक तीन/तीन घण्टाको अन्तरालमा स्कर्टिङ गर्ने व्यवस्था मिलाइएको छ । पहिलो स्कर्टिङ साढे १० बजे गरिएको छ । दोस्रो स्कर्टिङ १ बजे र तेस्रो स्कर्टिङ ३ बजे गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
ती सवारीले बीचमा कुनै सवारी चढाउन र ओराल्न पाउने छैनन् । यसका साथै मतदान समाप्त नहुँदासम्मको अवधिमा अपरिचित व्यक्तिको प्रवेश, अस्वभाविक व्यवहार, शङ्कास्पद गतिविधि देखिएमा नजिकैको प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरिएको छ ।
मतदानका लागि कास्की-२ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीकाअनुसार उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ ।
कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
यो क्षेत्रमा पोखराका विभिन्न ११ ओटा वडा पर्छन । त्यसमा वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ रहेका छन् ।
सम्बन्धित समाचार::
आज मध्यरातबाट कास्कीमा सवारी सञ्चालनमा रोक !
नेकपा उम्मेदवार विद्या भट्टराईले खसालिन् मत
साझा पार्टीकी उम्मेदवार रजनीले गरिन् मतदान
मतदान गर्न लाइनमा उम्मेदवार भट्टराई
पोखरा-३३ को सरस्वती टिका मतदान स्थल नजिकै विस्फोट
कास्कीका तीन वटा मतदान स्थल नजिकै बम बिस्फोट



