वडाध्यक्षको गुनासो : ‘महानगर चुक्दा सडक बालबालिकामुक्त पोखरा बनाउन सकेनौँ’

Share:

पोखरा । पोखराको सडकमा सडक बालबालिकाका देखिनु नौलो विषय होइन । बारम्बार व्यवस्थापनको विषय उठे पनि महानगरले कुनै पहलकदमी गरेको छैन । पोखराको मुख्य बजार पृथ्वीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल लगायतका ठाउँमा देखिने बालबालिकका कारण महानगरको कार्यक्षमतामा प्रश्न उठिरहेकै छ । सडक बालबालिकाकामुक्त पोखरा बनाउने अभियान भने अभियानमा मात्र सीमित छ । यो विषयमा क्रियाशील हुनुपर्ने महानगर मुकदर्शक बनिरहेको छ ।

महानगरकै एक जनप्रतिनिधिले महानगर विभिन्न पक्षमा चुक्दा सडक बालबालिका मुक्त पोखरा बनाउन नसकिएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष शंकर बाँस्तोलाले महानगर आर्थिक, भौतिक रुपमा चुक्दा र उचित समन्वयका अभावले महानगरलाई सडक बालबालिका मुक्त गराउन नसकिएको बताएका हुन् ।

यो पनि पढ्नुहोस् : पोखरालाई चुनौती बन्दै सडक र श्रमिक बालबालिका

बिहिबार वडा कार्यालय गैह्रापाटनमा ‘बालबालिकासँग वडा अध्यक्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वडाध्यक्ष बाँस्तोलाले यस्तो गुनासो गरेका हुन् । ‘हामीले वडाबाट त्यस्ता बालबालिकाको उद्धार गरि महानगरमा बुझायौं’, पश्चिमाञ्चल माध्यमिक विद्यालयका विद्यार्थीसँग बोल्दै बाँस्तोलाले भने, ‘महानगर भौतिक, आर्थिक र समन्वयात्मक रुपमा चुक्दा पुनः यस्ता समस्या बल्झिएका छन् ।’

वडा नम्बर-४ का वडाध्यक्ष बाँस्तोलासहित अन्य सहभागिहरू

वडाध्यक्ष बाँस्तोलाले अब पुन वडा समितिको बैठक बसि महानगरसँग सहकार्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा विद्यार्थीका जिज्ञासा मेटाउँदै वडाध्यक्ष बाँस्तोलाले नीजि र सामुदायिक विद्यालयबिचको खाडल पुर्ने काम स्थानीय सरकारको भएको बताए । उनले आफुहरुले यसका लागि वडाको एकमात्र सामुदायिक विद्यालयमा नवीन माविमा छलफल गरिसकेको जनाए ।

‘हामीले यसअघि नै नवीन माविसँग छलफल ग¥यौँ, अब नीजि विद्यालयसँग पनि छलफल अगाडि बढाएका छौँ ।’ वडाध्यक्ष बाँस्तोलाले भने,‘ नीजि र सामुदायिक विद्यालयबिचको खाडल पुर्ने काम स्थानीय सरकारको भएकाले हामी खटेका छौँ ।’ विद्यालय क्षेत्र भित्र कुनै अनैतिक कार्य हुन नदिन विद्यार्थी स्वयं नै लाग्नुपर्ने बताए ।

‘विद्यालय क्षेत्र भित्र अहिले त्यस्ता अनैतिक कार्य हुन छाडेका छन्, भएको खण्डमा हामीलाई सुनाउनुस् हामी कार्वाही गछौँ ।’ उनले बताए । आफुहरुले चुनावका समय राखेका चुनावी प्रतिवद्धता पुरा गरिरहेको र सबैको हक अधिकारको सुनिश्चितता गरेको जनाए । पार्टीगत भन्दा मानवियताका हिसाबले काम गर्दै कुनै सेवाग्राहीको काम नअड्काएको बाचा गरे ।

फरक प्रसंगमा बोल्दै वडाध्यक्ष बाँस्तोलाले अब प्राचिन शैलीमा घर बनाउनेलाई वडाले नक्सा पासमा ५० प्रतिशत छुट दिने योजना ल्याएको बताए । ‘प्राचिन घरहरु वडाले संरक्षण गर्न सकेन नि ?’ भन्ने विद्यार्थीको प्रश्नको जवाफ दिँदै उनले प्राचिन घरको संरक्षणका लागि वडाले ७७ लाख रुपैँया बजेट माग गरेको सुनाए । ‘प्राचिन शैलीका घरमा छपनी व्यवस्थापनका लागि हामीले ७७ लाख बजेट माग गरेका छौँ र यसका लागि टेन्डर आह्वान गछौँ ।’ उनले भने ।

उनले वडाभित्र रहेका त्यस्ता पुराना घरको अभिलेखिकरण गरी महानगरमा त्यसको रिर्पोट बुझाएको पनि जानकारी दिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले ५ तारे होटलमा बसेर दुर्गम भेगका योजना तर्जुमा गरिने गरेको अवस्थामा यस्ता अन्तरक्रिया कार्यक्रमले सो परिपाटीको अन्त्य गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पश्चिमाञ्चल माविका ४५ विद्यार्थीसहित शिक्षक शिक्षिका, वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडाकी कर्मचारी सिता कोइरालाले गरेकी थिइन् ।

यो पनि पढ्नुहोस् : अनिश्चित बन्दै ‘बालमैत्री पाेखरा’ (अडियो)

कमेन्ट गर्नुहोस्
Share: