
पोखरा । कास्कीमा अहिलेसम्म ५५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेकाअनुसार दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मत खसेको हो ।
कास्की २ बाट निर्वा्चित तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि यो क्षेत्र रिक्त छ ।
उनको उत्तराधिकारी चयन गर्न मतदान भइरहेको हो । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । अहिले भइरहेको मतदानका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ ।
उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ ।
कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
यो क्षेत्रमा पोखराका विभिन्न ११ ओटा वडा पर्छन । त्यसमा वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ रहेका छन् ।
बिहानको समयमा बम विस्फोटका घटना भए पनि अहिले भने सो अवस्था दोहोरिएको छैन् । कास्कीमा बिहानैबाट सवारी साधन पर्याप्त मात्रामा चलेका छैनन् ।
पास लिएका चलेकाबाहेक अन्य सवरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती सवारीलाई मतदान सकिएपछि मात्र छोडिनेछ ।
कास्कीमा २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमा ११ जना दलीय र १० जना स्वतन्त्र छन् ।
स्वतन्त्र रुपमा उठ्नेमा उम नाथ गौतम, कमल जङ्ग कुँवर, जमुना शर्मा, दिपक रेग्मी, नबराज बास्तोला, यज्ञ प्रसाद पंगेनी, रन बहादुर दमै, लक्ष्मी कुमारी भुजेल, सुनिल बहादुर कोइराला र सुनिल भुसाल छन् ।
कास्की २ मा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्ष काँग्रेसका तर्फबाट खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, राप्रपाबाट रोमबहादुर भण्डारी, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली काँग्रेस (विपी) बाट चन्द्र बहादुर रानाभाटलगायत चुनावी मैदानमा छन्।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (माले) बाट टेकनाथ भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ चुनावी मैदानमा छन्।
गएको निर्वाचनको मत
२०७४ सालको निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए ।अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।
सो निर्वाचनमा तेस्रो भएको तत्कालीन विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए ।
तस्बिर-सुदर्शन रञ्जित
सम्बन्धित सामाग्री::
आज मध्यरातबाट कास्कीमा सवारी सञ्चालनमा रोक !
नेकपा उम्मेदवार विद्या भट्टराईले खसालिन् मत
साझा पार्टीकी उम्मेदवार रजनीले गरिन् मतदान
मतदान गर्न लाइनमा उम्मेदवार भट्टराई
पोखरा-३३ को सरस्वती टिका मतदान स्थल नजिकै विस्फोट
कास्कीका तीन वटा मतदान स्थल नजिकै बम बिस्फोट
कास्कीमा अहिलेसम्म पास बिना चलाइएका १५० बढी सवारी प्रहरी नियन्त्रणमा !
पोखरा १६ को मतदान केन्द्रमा बम विस्फोट
कास्की-२ उपनिर्वाचन : २१ उम्मेदवारले पाए चुनाव चिन्ह
कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)

